भिमाद सञ्चार
तनहुँ २०८१ असार २२, अमृत परियार
भिमाद । तनहुँको भिमाद नगरपालिका -३ जलौदीमा एक घर पहिरोको कारण पुर्ण रुपमा क्षति भएको छ । गए राती देखिको अविरल वर्षाका कारण भिमाद नगरपालिका ३ जलौदी निवासी विवा विकको घर पहिरोले पुरेको स्थानिय ऋषिकेश पुरीले बताएका छन् । पहिरोबाट कुनै पनि मानवीय क्षति भने भएको छैन ।
पहिरोका कारण घर पूर्ण रूपमा क्षति भई घरको लालपुर्जा , नागरिकता लगायत अन्य महत्त्वपूर्ण कागजात , लत्ताकपडा, भाँडाकुँडा , अन्नपात साथै सम्पूर्ण घरायसी सरसामान पुरिएको पीडित यमन विकले बताएका छन् । विकले पहिरोको कारण परिवार विस्थापित भएकाले तत्काल राहत र उद्धारको लागि माग गरेका छन् ।
यस्तै भिमाद नगरपालिका ३ का वडाध्यक्ष पदमराज सेनले पीडितहरुलाई अस्थायी बसोबास र खानपानको लागि व्यवस्था गर्ने बताए साथै उनले भिमाद नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट आवश्यक सहयोग जुटाई पीडितलाई राहत प्रदान गर्ने समेत बताएका छन् ।