तनहुँ २०८१ माघ २३

तनहुँ । जिल्लाको शुक्लागण्डकी–५ दुलेगौडा स्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा डायलाइसिस सेवा प्रवाहका लागि भौतिक संरचना निर्माण कार्य सुरु गरिएको छ ।

मृर्गौलाका समस्या भएका बिरामीलाई आगामी चैत ७ गते जीपी स्मृति दिवसका दिनदेखि सेवा दिने योजनासहित निर्माण कार्य अघि बढाइएको  हो ।  रु.४० लाखको लागतमा डायलाइसिस भवन निर्माण भइरहेको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

डायलाइसिसका लागि आवश्यक पर्ने बेड र मोनिटर जीपी अस्पतालमा रहेकाले छ वटा मेसिन स्वास्थ्य सेवा विभागबाट माग गरिएको छ,उहाँले भन्नुभयो “विपन्न नागरिक उपचार कार्यक्रम सूचिकृतका लागि प्रक्रिया अघि बढाइएको छ ।”
डायलाइसिसका लागि प्रतिव्यक्ति रु.दुई हजार पाँच लाग्ने शुल्कमा निःशुल्क गर्न नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा स्वास्थ्य सेवा विभागमा सूचिकृत गर्न पठाइएको उहाँले बताउनुभयो ।

छ वटा डायलाइसिस मेसिनमध्ये एक वटा इमरजेन्सी सेवाका लागि राखिने छ भने पाँच वटा मेसिन दैनिक निरन्तर सेवामा प्रयोग गरिनेछ,उहाँले भन्नुभयो “हप्तामा तीस जना बिरामीलाई सेवा प्रवाह गर्न सकिनेछ ।”
उक्त डायलाइसिस सेवाका लागि संरचनासहितको कार्यमा लायन्स क्लब र शुक्लागण्डकी नगरपालिकाले सहयोग रहेको सो केन्द्रले जनाएको छ ।
उक्त सेवा सञ्चालन गर्न तीन जना नर्सलाई तालिम प्रदान गरेर तयारी अवस्थामा राखिएको सो केन्द्रले जनाएको छ ।
स्वास्थ्य बीमाबाट पनि उपचार सेवा प्राप्त गर्न सक्ने भएपछि बिरामीको चाप बढेको छ । दैनिक यस अस्पतालबाट तीन सय बढी बिरामीले सेवा लिने गरेको प्रशासन शाखा प्रमुख प्रदीप पौडेलले बताउनुभयो ।

उहाँका अनुसार यतिबेला रुघाखोकी,ज्वरो लगायतका सिजनल किसिमका बिरामीको चाप बढी रहेका छन् ।
केन्द्रमा श्वासप्रश्वास रोगसम्बन्धी विशेषज्ञ सेवासहित हाडजोर्नी तथा नशारोग, स्त्रीरोग, बालरोग, नाक, कान घाँटी, जनरल सर्जरीको विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ ।
यस अस्पतालमा तनहुँसहित छिमेकी जिल्ला स्याङ्जा, पाल्पा, नवलपरासी, कास्की, लमजुङ लगायतका जिल्लाबाट मानिसहरु उपचारका लागि आउने गरेका छन् ।