भिमाद सञ्चार
तनहुँ २०८२ जेष्ठ १
भिमाद ।जिल्लाको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठविरुद्ध ज्यान मार्ने उद्योगमा प्रहरीमा जाहेरी दर्ता भएको छ । जग्गा विवादमा गाउँपालिका अध्यक्ष श्रेष्ठले घरमा बोलाएर ५७ वर्षीय प्रभात आलेलाई कुटपिट गरेको बिषयमा अध्यक्ष बिरुद्ध जाहेरी दर्ता भएको हो । भीमादको मालेबजारमा गाउँपालिका अध्यक्ष श्रेष्ठले आले परिवारको जग्गा खरिद गरेका थिए । त्यो जग्गाको विषयमा उनीहरुबीच ७–८ वर्षदेखि विवाद छ । श्रेष्ठले सहमति गर्न बोलाएर आफूलाई एक्कासी कुटपिट गरेर ज्यान मार्न खोजेको भन्दै आलेले प्रहरीमा उजुरी दिएका थिए । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख इन्सपेक्टर पोषण थापाले गाउँपालिका अध्यक्ष श्रेष्ठविरुद्ध जाहेरी दर्ता भएको जानकारी दिनुभयो ।
‘जाहेरी दर्ता भएको छ । सुरूको ठाडो उजुरीमा कुटपिट भएकाले क्षतिपूर्ति भराइ पाउँ भन्ने थियो । पछि ज्यान मार्ने उद्योगमा हुलाकमार्फत जाहेरी प्राप्त भयो र दर्ता भयो,’ इन्स्पेक्टर थापाले भन्नुभयो ।
निज जाहेरी आलेले बैशाख १५ गते हुलाक कार्यालय मार्फत सरकारी वकिल कार्यालयमा पठाएको ज्यान मार्ने उद्योग मुद्दाको जाहेरी दरखस्त पेश गर्नुभएको थियो ।
त्यसबारे अध्ययन भइरहेको प्रहरीले जनाएको छ । ‘घाउको परीक्षण, घटनाको प्रकृतिबारे अनुसन्धान भइरहेको छ,’ इन्सपेक्टर थापाले भन्नुभयो ‘यो मुद्दालाई कसरी अगाडि बढाउने भनेर हिजोमात्र पनि सरकारी वकिलको कार्यालयमा छलफल भएको छ । अनुसन्धान जारी छ ।’ पीडित भनिएका प्रभात आले र पालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ दुबै सम्पर्कमा रहेको इन्स्पेक्टर थापाले बताउनुभयो ।
प्रभात आले २०१५ सालमा तनहुँबाट कांग्रेस सांसद बनेका पदमबहादुरका छोरा तथा गण्डकी प्रदेश सरकारका पूर्वमन्त्रीसमेत रहेका सांसद जीतप्रकाश आलेका भाइ हुन् ।
गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठविरुद्ध जग्गा विवाद र कुटपिटको आरोपमा जाहेरी दर्ता भएको छ। श्रेष्ठले आफ्नै घरमा बोलाएर ५७ वर्षीय प्रभात आलेलाई कुटपिट गरेको आरोप छ। प्रहरी अनुसन्धान जारी रहेको र घटनाको प्रकृतिबारे अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।










