भिमाद सञ्चार

तनहुँ २०८२ असार ३

जिल्लाको म्याग्दे गाउँपालिकाले ४८ जना विपन्न जनताको घर निर्माण गरेर सोमबार हस्तान्तरण गरेको छ । विपन्न नागरिकहरु घर बिहीन नहुन् भनेर सम्बन्धित वडाको सिफारिसको आधारमा घर निर्माण गरी संयुक्त रूपमा प्रमाणपत्र प्रदान गरेको हो । घर पाएसंगै बिपन्न नागरिक परिवारमा खुशी छाएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को २५ घर रु.आठ लाख र आर्थिक वर्ष २०८१/०८२ को २३ घर रु.दश लाखको लागतमा टेन्डर प्रक्रियाबाट निर्माण गरिएको हो । सङ्घको समपुरक कोषको ३८ प्रतिशत र गाउँपालिकाको ६२ प्रतिशत लागतमा आवास निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

सङ्घीय सरकारको समपूरक कोष र गाउँपालिकाको साझेदारीमा ४८ विपन्नको आवास निर्माण गरी हस्तान्तरण गरिएको प्रमुख अधिकारीले जानकारी दिनुभयो । चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम तथा नेपाल सरकारको समपूरक योजना अन्तर्गत आर्थिक विपन्न वर्गलाई नमुना आवास कार्यक्रम अन्तर्गत आवास निर्माण गरिएको हो ।

परिवार सदस्यमा कोही स्थायी रोजगार तथा दिगो लगानी तथा आयस्रोत नभएको, दोहोरो सुविधा तथा अनुदान नलिएको प्रमाण पेस गर्नुपर्ने प्रावधान राखिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताउनुभयो । अपाङ्गता भएका व्यक्ति, असहाय, सिमान्तकृत जाति, अल्पसंङ्ख्यक जाति वा दलित जातिमा सूचीकृत भएकालाई प्राथमिकता दिईएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो ।
हामी जनप्रतिनिधिमा निर्वाचित भएपछि ५ वर्ष भित्रमा कम्तीमा ६० वटा घर बनाउछौं भन्ने प्रतिवद्धता अनुसार अहिलेसम्म ४८ वटा घर बनेको श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिकाले साँढे ४ करोडको लागतमा ७ वटै वडामा घर निर्माण गरेको हो । उक्त घर दश वर्ष बेच्न , भाडामा लगाउन , धितो राख्न नपाउने गाउँपालिकाले जनाएको छ । घर हस्तान्तरण कार्यक्रममा घर पाउने स्थानीय लक्ष्मण परियारले खुसी हुँदै गाउँपालिकालाइ धन्यवाद दिनुभयो । अर्की घर पाउने पशुपति सुनारले केही नभएर बसेको मान्छेलाई गाउँपालिकाले घर निर्माण गरिदिएको भन्दै गाउँपालिकालाइ जति धन्यवाद दिएपनी कमी हुने बताउनुभयो ।

उक्त अवसरमा गाउँपालिकाका ईन्जिनियर शिव ज्ञवालीले दुई कोठे पक्की भवन निर्माण गरिएको बताउनुभयो । कार्यक्रममा वडा नं १ का अध्यक्ष एवम् प्रवक्ता मणिभद्र वाग्ले, वडा नं ६ का अध्यक्ष हिरालाल गुरूङ लगायतले बोलेका थिए । यस्तै गाउँपालिकाका अमिन शेषराज पण्डितले कार्यक्रमको सहजीकरण गरेका थिए ।

@JC