प्रधानमन्त्रीले भने– मिर्गौला रोगीलाई साढे ८ लाखसम्म उपचार सहुलियत
भिमाद सञ्चार
तनहुँ २०८२ श्रावण ६
सरकारले मिर्गौलाका बिरामीहरूका लागि साढे ८ लाख रुपैयाँ सम्मको उपचार सहुलियत उपलब्ध गराउने निर्णय गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सामाजिक सञ्जालमार्फत सो घोषणा गर्दै यसले रोगबाट पीडित बिरामी र उनीहरूका परिवारलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे।

यो सुविधा प्राप्त गर्नका लागि बिरामी अनिवार्य रूपमा सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएको हुनुपर्ने शर्त राखिएको छ। प्रधानमन्त्री ओलीले आफ्नो पोस्टमा उल्लेख गरेका छन्, ‘यसका लागि अनिवार्य रुपमा स्वास्थ्य बीमा भने आबद्ध हुनुपर्ने छ।’
मिर्गौला रोगीका अतिरिक्त सरकारले अन्य सात प्रकारका गम्भीर रोगका बिरामीहरूलाई पनि राहत दिने निर्णय गरेको छ।
निर्णयअनुसार, क्यान्सर, मुटु, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले एक लाख रुपैयाँ बराबरको उपचार खर्च पाउनेछन्।
नेपालमा मिर्गौला, क्यान्सर र मुटु रोगको उपचार अत्यन्तै महँगो मानिन्छ। जसले गर्दा धेरै परिवार आर्थिक संकटमा पर्ने गरेका छन्। @c
प्रकाशित मिति : २०८२ साउन ८ गते बुधवार