भिमाद सञ्चार
तनहुँ २०८२ भाद्र १७
अमृत परियार
भिमाद । मस्तिष्क पक्षघात स्वावलम्बन समूह, नेपालको आयोजनामा तनहुँको भिमाद–६ जनज्योति माध्यमिक विद्यालय दिवा सेवा स्याहार केन्द्रमा आइतबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा मस्तिष्क पक्षघात एवम् न्यूरो समस्या भएका बालबालिकाको स्वास्थ्य परीक्षण गरिँदा २२ जना बालबालिकाले प्रत्यक्ष लाभ लिएका छन् । बालरोग विशेषज्ञ डा. प्रज्ञा कर्माचार्य र फिजियोथेरापिस्ट डा. अनुराग मिश्रले बालबालिकाको स्वास्थ्य परीक्षण गरेका हुन् ।

शिविरमा शरीरका विभिन्न अङ्गहरूको चेकजाँच सँगै समस्याको कारण, त्यसको समाधान उपाय, स्वास्थ्यसम्बन्धी सल्लाह र परामर्श दिइएको थियो । लाभान्वितमध्ये पाँच जना बालबालिकाले (ई.ई.जी.) सेवा समेत लिएका थिए ।
बालबालिकाको नियमित स्वास्थ्य परीक्षण, डाक्टर तथा फिजियोसँग फलोअप, शारीरिक तथा मानसिक विकासका लागि अभिभावकलाई आवश्यक जानकारी दिने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको पुनस्थापना सहजकर्ता विष्णु गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार यस्ता स्वास्थ्य शिविर नियमित रूपमा सञ्चालन हुँदै आएका छन् ।









