काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो अन्तरिम सरकारमा रामेश्वर खनाललाई अर्थमन्त्री र कुलमान घिसिङलाई ऊर्जामन्त्री नियुक्त गरेकी छन्।
प्रधानमन्त्री कार्कीले सुरुमा फोनमा छलफल गरेपछि मन्त्रीहरूलाई कार्यालयमा बोलाएर टुंगो लगाएकी हुन्।
साथै, ओमप्रकाश अर्याललाई पनि मन्त्री बन्न प्रस्ताव गरिएको छ, तर उनले अहिलेसम्म सहमति जनाएका छैनन्।
खनाल पूर्वअर्थसचिव हुन् र आर्थिक सुधार सम्बन्धी ठोस प्रतिवेदन तयार पारिसकेका छन्। घिसिङ पूर्व नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हुन्, जसले लोडसेडिङ कम गर्न महत्वपूर्ण भूमिका खेलेका थिए।
प्रधानमन्त्री कार्कीले यसअघि सविता भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरिसकेकी छन्। कार्कीको अन्तरिम सरकार केपी ओलीको राजीनामा र प्रतिनिधिसभा विघटनपछि गठन भएको हो, र आगामी फागुन २१ मा निर्वाचन हुने घोषणा भइसकेको छ।









