भिमाद सञ्चार

तनहुँ २०८२ माघ १५

भिमाद ।
भिमाद नगरपालिका–२ रघु हाल भिमाद बजारको क्याम्पस गेट निवासी ब्रेन ट्युमर पीडित दीक्षा थापाको उपचारका लागि माउण्ट अन्नपूर्ण इंग्लिश बोर्डिङ्ग स्कूल, भिमाद–६ माझटारका २०७१ सालको एसएलसी ब्याचले ८० हजार १०५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।


आज विद्यालय परिसरमा आयोजित एक कार्यक्रमका बीच दीक्षाकी आमा तिलिसरा थापालाई सहयोग रकम हस्तान्तरण गरिएको विद्यालयका प्रिन्सिपल शोभाकान्त पाण्डेले जानकारी दिए ।
२०७१ सालको एसएलसी ब्याचका विमल थापा लगायत उनका कक्षाका साथीहरूले आफ्नो विद्यालयमा अध्ययन गरेकी बहिनी दीक्षालाई आर्थिक अभावका कारण उपचारमा समस्या भएको जानकारी पाएपछि आपसी समन्वयमा रकम संकलन गरी सहयोग गरेको बताएका छन् ।


यसअघि करिब २० दिनअघि माउण्ट अन्नपूर्ण इंग्लिश बोर्डिङ्ग स्कूलकै २०७२ सालको एसएलसी ब्याचका विद्यार्थीहरूले पनि ५० हजार १५५ रुपैयाँ सहयोग गरिसकेको प्रिन्सिपल पाण्डेले बताए ।
विगत एक वर्षदेखि ब्रेन ट्युमरसँग संघर्षरत दीक्षाको हाल काठमाडौंस्थित वीर अस्पतालमा उपचार भइरहेको र थप सहयोग आवश्यक रहेको उनकी आमा तिलिसरा थापाले बताइन् । उपचारलाई निरन्तरता दिन सहयोगका लागि उनले सबैसँग अपिलसमेत गरेकी छन् ।