तनहुँ आइ.टि.एफ तेक्वान्दो संघको कलर बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । तनहुँको भिमाद नगरपालिका ६ स्थित सभाहलमा आयोजित ग्रेडिङ कार्यक्रममा २ सय खेलाडीहरूको वेल्ट ग्रेडिङ भएको संघले जनाएको छ । कार्यक्रममा एक्ले खेत तेक्वान्दो एकेडेमी , शुक्लागण्डकी तेक्वान्दो एकेडेमी , भिमाद तेक्वान्दो एकेडेमी र ऋषिङ्गपाटन तेक्वान्दो एकेडेमीका २०० खेलाडीहरूको कलर ग्रेडिङ भएको छ । सो मध्य ५० जनाको ह्वाइट बेल्ट बाट यल्लो बेल्ट , १०० जनाको यल्लो बेल्ट बाट ग्रीन बेल्ट र ५० जनाको ग्रीन बेल्ट बाट ब्लु बेल्टमा ग्रेडिङ भएको शुक्लागण्डकी तेक्वान्दो एकेडेमीका प्रशिक्षक सोम बहादुर गुरुङले जानकारी दिए । यस्तै सो अवसरमा वन्दना तामाङ र अभिषेक पुनलाई ब्ल्याक बेल्ट प्रदान गरिएको थियो । भने सर्वोकृष्ट खेलाडी मोनिका कुवंर र काठमाडौंमा सम्पन्न गिरिजा प्रसाद कोइराला प्रोफेसनल राष्ट्रिय खेलका विजेता दिनेश बुढा मगरलाई सम्मान गरिएको थियो ।

आत्मरक्षा साथै अनुशासनको लागि खेलिने खेल तेक्वान्दो प्रति पछिल्लो समय सबैको चासो एबम् रुचि बढ्दै गएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले बताए । देशमा खेलकुदमा भविष्य देखेर विभिन्न खेलकुद क्षेत्रमा लागिरहेका खेलाडीहरूको निम्ति राज्यले विशेष प्राथमिकतामा राख्नुपर्ने सुझाएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश तेक्वान्दो संघका वरिष्ठ उपाध्यक्ष अङ्क घर्तीमगर , नगर खेलकुद विकास समिति भिमाद नगरपालिकाका अध्यक्ष प्रेम बहादुर थापा , जनज्योती क्याम्पसका स्ववियु सभापति सुशील श्रेष्ठ लगायतले खेलकुदले आफ्नो कला कौशल बृद्धि हुने साथै व्यक्तित्व समेत  विकास हुने बताएका थिए । खेलकुद क्षेत्रमा राज्यले विशेष बजेट विनियोजन गर्दै खेलाडीहरूको भविष्य सुनिश्चित गराउनुपर्ने जोड दिएका थिए ।

तनहुँ तेक्वान्दो एकेडेमीका अध्यक्ष एबम् भिमाद तेक्वान्दो एकेडेमीका मुख्य प्रशिक्षक आकाशचन्द्र घर्तीमगरले अब भिमादमानै राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने बताएका थिए । स्थानीय सरकारले अन्य क्षेत्र चासो दिए जस्तै तेक्वान्दो खेललाई पनि विशेष स्थान दिनुपर्ने बताएका थिए ।

 

पछिल्लो समय युवा पुस्ताहरु प्रविधिमा रमेर हराइरहदा सामजिक मुल्य मान्यता भुल्ने र निष्क्रिय बन्दै गएकाले आत्मरक्षा र शारीरिक तन्दुरुस्तीका लागिपनी खेलकुदमा लाग्नु पर्ने बताए ।