चैत्र २७

दैनिक उपभोग्य सामाग्री व्यवसाय गरेका २३ पसलमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अनुगमन भएको छ ।म्याद गुज्रेका सामाग्रीहरुको विक्रि वितरण गरेको जनगुनासो आएपछि प्रशासनले जिल्ला सदरमुकाम पुतलीबजारमा अनुगमन गरेको हो ।

सदरमुकाम स्थित उपभोक्ताले दैनिक उपभोग गर्ने कृषि, पशु र खाद्यन्नका बिक्रि गर्ने पसलहरु अनुगमन गरेको थियो । खाद्यन्नका १४, तरकारी १, मासुजन्य ५, रेष्टुरेन्ट २ गरी २३ पसलहरुमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । अनुगमनबाट प्रशासनले म्याद गुजे्रका दैनिक उपभोग्य सामाग्री बरामद गरेको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नमिता रेग्मीको नेतृत्वमा उपभोक्ता हित मञ्च, स्वास्थ्यकर्मी, उद्योग वाणिज्य संघ, नेपाल प्रहरी लगायतको सहभागितामा पसलहरु अनुगमन गरिएको प्रशासनले जनाएको छ । मासु पसल, फलफुल पसल र खाद्यन्नका पसलहरुमा अनुगमन गरी म्याद गुज्रेका सामाग्रीहरु बरादम गरी नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिइन् ।

बजारको अवस्था सामान्य देखिएको छ सप्रजिअ रेग्मीले भनिन्,‘पहिलो प्रथामिकता नागरिकको स्वास्थ्य सगँ जोडिएकाले कृषि, पशु र खाद्यन्नमा हाम्रो जोड हो ।’ यसको दायरा बढाउदै अन्य पशलहरुमा पनि हाम्रो अनुगमन हुने छ उनले भनिन् । अनुगमन गरिएपनि प्रशासनले कारवाहि भने अहिले सम्म कसैलाई गरेको देखिएको छैन । सुझाव दिने कामले मात्र बजारमा उपभोग्य बस्तुमाथी व्यवसायीको मनोमानी भने देखिने गरेको छ । यसको नियन्त्रण र दैनिक अनुगमन गर्ने अधिकार पाएको स्थानीय पालिकाहरु भने बेखबर जस्तै बनेका छन् ।

स्थानीय निकायले बजार अनुगमन गरी उपभोक्ताहरुलाई स्वास्थ्य सामाग्री र चर्को मुल्य असुलीबाट बचाउनु आवश्यक देखिएको उपभोक्ता हित मञ्च स्याङ्जाका अध्यक्ष राजेन्द्र मरासिनीले बताए । व्यवसायीक र उपभोक्त विच सचेतना कार्यक्रम गर्नुपर्ने अवस्था देखिएको उनले बताए । जनताको नजिकको सरकार भनेको स्थानीय निकाय हो उनले भने,‘स्थानीय निकायनै उपभोक्तमुखी नभएको देखिदा नागरिकको स्वास्थ्यमा खेलवाड भएको छ ।’ प्रशासनको भुमिका राम्रो भएपनि ऐनले स्थानीय सरकारलाई बजार अनुगमनको अधिकार दिएको छ उनले भने । बजारमा पेय पदार्थ, बिष्कुट, चाउचाउ लगायतका दैनिक उपभोग्य हुने बस्तुहरुको म्याद गुज्रेको पाइएको बताइएको छ । दुई मासु पसललाई भने बिक्रि स्थल सुधार गरी ७ दिनभित्र जिल्ला प्रशासनमा हाजिर हुन निर्देशन दिएको जनाएको छ । अन्य अनुगमन गरिएका पसलहरुमा भने सचेत गराइएको प्रशासनले जनाएको छ । यसमा खरिद विक्रिकर्ताहरु नै चनाखो हुनुपर्ने अवस्था देखिएको छ ।