तनहुँ जिल्लाको भिमाद नगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार छान्न नेकपा एमालेले मतदान नै गरेको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा भिमादको मेयर र उपमेयर हुनलाई आकांक्षी धेरै भएपछि सोमबार मतदान गरिएको हो ।
मतदानमा नगर कमिटी सदस्य ८४ जना सहभागी भएका थिए । मतदानबाट मेयरमा दधिराज सुवेदी र इमानबहादुर थापाको नाम सिफारिस गरिएको छ । सुवेदीले ५८ र थापाले ५७ मत प्राप्त गरेका छन् । फेरी मेयरमा दोहोरिने आकांक्षा राखेका मेखबहादुर थापाले ३६ मत मात्रै पाएर आकांक्षीको सूचीबाट बाहिरिएका छन् । मेयरका आकांक्षी भवानीशंकर लम्सालले पनि १० मत प्राप्त गर्दा सिफारिस हुने मौकासमेत पाएनन् ।