भिमाद सञ्चार
तनहुँ १० जेष्ठ
यात्रुबाहक बसले  स्कुटरलाई ठक्कर दिदाँ मंगलबार तनहुँमा एक महिलाको निधन भएको छ, भने अर्का सवार  सख्त घाइते भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा परि मृत्यु  हुनेमा तनहुँ जिल्लाको भिमाद नगरपालिका–२ निवासी ४० बर्षकी पार्वती थापा रहेकी छन् । बसको ठक्करबाट गम्भीर घाइते थापाको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पृथ्वीराजमार्ग सडक खण्ड अन्तरगत तनहुँको व्यास नगरपालिका–५ मोचाबारीमा बसले स्कुटरलाई ठक्कर दिदाँ स्कुटरको पछाडी सवार ती महिलाको मृत्यु भएको हो । पोखराबाट दमौली तर्फ आउँदै गरेको ना ४ ख ८४४५ नंम्बरको बसले सोही दिशामा गुडिरहेको ग २० प ६३३६ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ उक्त दुर्घटना भएको हो । बसको ठक्करबाट सख्त घाइते स्कुटर चालक २० बर्षीय सुसिर थापाको पोखरा स्थित फिस्टेल अस्पतालमा उपचारको लागि पठाइएको छ । सवारी दुर्घटनामा परि मृत्यु भएकी महिला घाइते सुसिरको आमा भएको बुझिएको छ । ठक्कर दिने उक्त बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।