काठमाडौं । नेपाल प्रहरीका पूर्व आइजिपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरूको घरबाट एभोकाडो चोरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।

नयाँ बानेश्वर संगमचोकस्थित पूर्व आइजिपी मोतीलाल बोहराको घरसहित बिभिन्न १० ठाउँबाट एभोकाडो चोरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको हो।

अपराध महाशाखा र प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले रामेछापका सञ्जीव खड्का, हेटौंडाका २० वर्षीय राजेश राई, राजिव गुरुङ, काभ्रेका यमबहादुर तामाङ र देव तामाङसहित १२ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

यस्तै रामेछापका निरज नेपाली, काभ्रेका मिलन दुलाल, समिर तामाङ उर्फ वादशाह, सुनसरीका मोहित दाहाल, झापाका प्रदीप यादव र रामेछापका शंकर कठायत पनि पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुवेर खापुङले राति घर कम्पाउन्डमा छिरेर चोर्ने र सस्तोमा फलफूल पसलमा बेच्ने गरेको खुलेको जानकारी दिए।

काभ्रे घर भएका देव तामाङको योजनामा विगत ३ वर्षदेखि काठमाडौंका घर कम्पाउन्डबाट एभोकाडो चोरी हुँदै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। खापुङका अनुसार प्रहरीले शान्तिनगरमा सटर फुटाउँदै गरेका सञ्जीव खड्कालाई पक्राउ गरेपछि एभोकाडो चोरीको रहस्य खुलेको हो।

खड्काको गोजीमा एउटा एभोकाडो भेटिएपछि उनीमाथि अनुसन्धान गर्दै जाँदा प्रहरी चोरीमा संलग्नहरूको गिरो पक्राउ गर्न सफल भएको खापुङले बताए । बुद्धनगर, थापागाउँ, नयाँ बानेश्वर, मैतीदेवी, अनामनगर, शंखमुल, देवीनगर, नक्साल, ज्ञानेश्वर, चण्डोल र मालिगाउँस्थित घर कम्पाउन्डबाट एभोकाडो चोरी गरेको खुलेको प्रहरीले जनाएको छ।

‘बजार मूल्य प्रतिकिलो साढे तीन सयदेखि चार सय रुपैयाँ पर्ने एभोकाडो उनीहरूले डेढ सयदेखि दुई सयमा फलफुल पसलमा बेच्ने गरेका थिए । चोरीमा संलग्नहरूले राति ११ बजेपछि ५ बजेसम्म चोर्ने र बिहान ६ बजेभित्र पसलमा बेच्ने गरेको पाइएको छ।

एभोकाडो किन्ने बानेश्वर क्षेत्रका ८ ओटा फलफुल पसलेमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।