भिमाद सञ्चार
आइतबार, जेठ १५, २०७९

आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले श्रमजीवी पत्रकारहरू लाई प्रदान गरिँदै आएको दुर्घटना बीमा कार्यक्रम र लोककल्याणकारी विज्ञापन कार्यक्रमलाई निरन्तरता दिँदै यो सुविधा अनलाइन मिडियालाई समेत प्रदान गर्ने व्यवस्था मिलाएको बताउनुभयो ।

यस्तै बजेट भाषण मार्फत सरकारले पालिका तहसम्म ब्राेडब्यान्ड सेवाको पहुँच विस्तार गरिने जनाइएको छ । यस्तै हुलाक सेवालाई आधुनिकीकरण र व्यवसायीकरण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा विश्वसनीय र भरपर्दो निकायको रूपमा विकास गर्न यसको पुनर्संरचना गरिने जनाएको छ ।

लोकतान्त्रिक पद्धति, सुशासन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सञ्चार क्षेत्रलाई थप मर्यादित, जिम्मेवार, व्यावसायिक र पारदर्शी बनाइने पनि सरकारले जनाएको छ ।

अनलाइन सञ्चार माध्यमले पनि लोककल्याणकारी विज्ञापन पाउने भएका छन्।

अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट प्रस्तुत गर्दै उनले श्रमजीवी पत्रकाहरुको हकमा हुँदै आएका सबै कार्यक्रमलाई निरन्तरता दिँदै अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन दिने व्यवस्था गरेको जानकारी दिए।

हालसम्म नेपालमा रेडियो, टेलिभिजन र पत्रपत्रिकाहरुलाई मात्र लोककल्याणकारी विज्ञापन दिँदै आएको छ। यस्तो व्यवस्था लागू भएपछि अनलाइन मिडियाले पनि सरकारी विज्ञापन पाउने भएका छन् ।