भिमाद सञ्चार

तनहुँ १८ जेष्ठ

नेकपा एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले मिर्गौला पीडितलाई पाँच हजार भत्ता दिने सरकारको नीति राम्रो भएपनि विरामी बचाउँनका लागि डायलासिस अनिर्वाय भएको र यसलाई निःशुल्क गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान माथि सामान्य छलफलमा उनले डायलासिस गर्ने मेसिनको अभाव रहेका बेला सरकारले उपलब्ध गराउने भत्ता उपयोगी नहुने बताए ।

उनले भने, ‘ सरकारले क्यान्सर, मिर्गौला रोगीलाई पाँँच हजार दिन्छु भनेको छ यो राम्रो हो । तर, अहिले अस्पतालमा डायलासिस गर्ने मेसिन छैनन् र ६ महिना, एक वर्ष पालो कुर्नुपर्ने अवस्था छ । डायलासिस नभएर त्यो पाँच हजार लिनुअघि नै मृत्यु भक्न आक्छ । सरकारले बजेटमा पहिला सम्पूर्णको डायलासिस निःशुल्क गर्ने र मेसिन किन्न नीति ल्याउन आवश्यक  हुन्छ।’

पाण्डेले डलरको सञ्चिती घट्ने क्रम जारी रहे नेपालको अवस्था श्रीलंकाको जस्तो हुनसक्ने चेतावनी पनि दिए । हरेक महिना १२ देखि १५ करोड डलर घट्दै गएको भन्दै उनले यस्तै अवस्था रहे बजेटको लक्ष्य पूरा हुन नसक्ने,
‘यस वर्षको हाम्रो ९ करोड ६१ अरब डलर रिजर्भ छ । २ अर्ब ७० करोड डलरको साउनदेखि अहिलेसम्म डिपोजिट घटेको छ, हरेक महिना १२ देखि १५ करोड डलर घट्दै छ । डलरको डिपोजिट घटिरहने हो भने हाम्रो आयात घट्ने छ । हामीले फरेन करेन्सी दिन सक्दैनौं । तपाईंले फरेन करेन्सी दिन सक्नु भएन भने १२ खर्ब ४० अर्ब रेभिन्यू कसरी कलेक्ट गर्न सक्नुहुन्छ ?

यो अवस्थाले अर्थतन्त्र धरासायी हुने संकेत देखिएको उनको टिप्पणी छ । उनले भने, ‘तपाईंले केही पैसा त बाँड्ने कुरा गरौंला, केही कुरा गरेर चुनावमा प्रभाव पारौंला भन्नुभाछ, तर अर्को सालमा जाँदा टाउकोमा हात लाएर बस्नुपर्ने र अर्थतन्त्र धरासायी भयो भनेर श्रीलंकाको जस्तो दसा हामीले देख्न नपरोस् ।’