भिमाद सञ्चार

तनहुँ २०७९ भाद्र ३० बिहिवार

तनहुँमा दुई बालिकालाई जबर्जस्ती करणी गरेको अभियोग लागेका एक युवकलाई अदालतले दोषी ठहर गरेको छ ।

दोषी ठहर हुनेमा भानु नगरपालिका वडा नं. ३ माझीवनका ३३ वर्षीय रमेश तामाङ रहेका छन् । तनहुँ जिल्ला अदालतले उनलाई  १९ वर्ष कैद र पीडित दुवैलाई एक-एक लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला सुनाएको हो ।

जिल्ला अदालतका न्यायाधीश दलबहादुर केसीको इजलासले उक्त दुई वटा छुट्टाछुट्टै बलात्कारको मुद्दामा तामाङलाई दोषी ठहर गर्दै क्रमशः १९ वर्ष र १६ वर्ष छ महिना कैद र क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी हरिशचन्द्र गौतमले जानकारी दिए ।

तामाङमाथि भानु नगरपालिका वडा नं. ३ माझीवनकै सुस्तमनस्थिति भएका १३ र १७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोग छ ।

तामाङले वि.सं २०७७ असार ३० गते दुई बालिकालाई बलात्कार गरेको भन्दै पीडितका परिवारले सोही दिन इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेमा उजुरी दिएका थिए ।

सोही उजुरीपश्चात् प्रहरीले सोही दिन तामाङलाई पक्राउ गरेको थियो । तामाङ जिल्ला अदालतको आदेशमा विसं २०७७ साउन २४ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।