गतवर्ष नेपाली सिनेक्षेत्रमा ‘महानायक’ को हो भन्ने विषयमा ठूलो विवाद सिर्जना भएको थियो। कलाकारहरु राजेश हमाललाई महानायक मान्ने कि नमान्ने भनेर दुई ध्रुवमा नै बाँडिएका थिए।

हाँस्यव्यंग्य कलाकार दिपाश्री निरौंलाले आफूले राजेश हमाललाई महानायक नमान्ने अभिव्यक्ति दिएपछि उनको लामो समय आलोचना भयो। ट्रोलको शिकार बनेपछि उनले रुँदै माफी नै मागेकी थिइन्।

 

यतिबेला पुनः सिनेक्षेत्रमा ‘महानायक–महानायिका’ विवाद सतहमा आएको छ। सफल मानिएका नायक शिव श्रेष्ठले भुवन केसी नभएको भए नेपाली चलचित्र क्षेत्र जमनामै बन्द भइसक्ने अभिव्यक्ति दिएपछि यो विवाद पुनः सुरु भएको हो।

शिव श्रेष्ठका अनुसार गौरी मल्ल महानायिका हुन भने भुवन केसी महानायक। भुवन केसीलाई महानायक भनेपछि राजेश हमालका फ्यानहरु रुष्ट भएका छन्।

यसबीचमा नायक राजेश हमालले फेसबुकमा एक पोस्ट गरेका छन्। जहाँ उनले भनेका छन्,‘कर्म सहि गर, फल प्राप्त हुनेछ।’ उनको यो पोस्ट महानायक विवाद पुनः छेडिएपछि आएको हो। जसकारण उनले सोही विषयलाई लक्षित गरेर पोस्ट गरेको अनुमान गर्न सकिन्छ।

उनले अंग्रेजीमा ‘लेट् योर वर्क स्पिक फर इटसेल्फ’ पनि भनेका छन्। अर्थात् मुखले बकबक गर्नुभन्दा कामले मान्छेको मन जित्नुपर्ने हमालको धारणा छ।