मान्छेको स्वभाव– लुकेको/लुकाइएको कुरालाई धेरै हेर्न खोज्छ । कुनै पनि कुरालाई जति लुकाइन्छ, त्यसप्रति चासो र उत्सुकता त्यति नै बढी हुन्छ । नदेखेको, नभेटेको कुरामा मान्छेले स्वाभाविकै बढी चासो दिन्छ ।
सांगीतिक बजारमा विष्णु माझी त्यस्तै एक चासो र रहस्यले भरिएकी लोकगायिका हुन् । उनीप्रति मानिसको चासो अत्यधिक छ । किनभने, उनी सार्वजनिक जीवनमा देखिएकी छैनन् । सर्वत्र उपलब्ध छैनन् । बजारमा देखिएकी छैनन् ।

‘विष्णु माझी कस्ती छिन् ?’, ‘उनी किन सार्वजनिक छैनन् ?’, ‘गुप्तवास उनको स्वेच्छा कि बाध्यता ?’, ‘मान्छे सामाजिक प्राणी भएपछि समाजमा घुलमिल हुन खोज्छ । उनले गुप्तवास जीवन बिताउन चाहिरहेको हो भने किन ?’, ‘कस्तो खालको जीवन उनले खोजेको हो ?’, ‘श्रीमानले नजरबन्दमा राखेर उनी सार्वजनिक नभएकी हुन् कि ?’, ‘त्यसो हो भने उनले विद्रोह गर्थिन् होला ।’

 

यी र यस्तै दर्जनौं चासो, चिन्ता र जिज्ञासाहरू उनीमाथि केन्द्रित छ । यिनै सवालले उनलाई ‘हटकेट’ बनाएको छ । त्यसमा सोसल मिडिया (फेसबुक, टिकटक)ले बढी नै मलजल गरेको छ । यही मेसोमा विष्णु माझीका एकपछि अर्को माधुर्य गीतहरू सार्वजनिक भैरहेका छन् । उनको गीतमा यति धेरै माधुर्यता र मोहनी लगाउने क्षमता हुँदैन थियो भने शायद गुप्तवास बसे पनि उनको यति धेरै सोधीखोजी हुँदैनथ्यो होला । अवस्था यस्तो छ कि उनका हरेक गीतले श्राेता/दर्शकलाई अत्यधिक तानिरहेको छ ।

तीजमा ‘चरी जेलैमा’ले यत्रतत्र, सर्वत्र चर्चा पायो । अहिले उनको दशैं तिहार गीत सार्वजनिक भएको छ । बुधबार मात्रै सार्वजनिक गीतको बोल छ, ‘दशैं तिहार आइसक्यो’ । यस गीतले पुनः दर्शक/श्राेतालाई तान्ने आकलन गरिएको छ ।

सांगीतिक बजारमा फेरि केही दिन उनको गीतको बोलवाला बढ्ने संगीतकर्मीहरूकाे अनुमान छ । यतिसम्म कि नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेका अन्य केही गायक–गायिकाहरू यो गीत आएपछि ‘ब्याक’ भएका छन् ।

एक चलेका लोकगायकले अनलाइनखबरसँग भने, ‘आज दशैं तिहार गीत सार्वजनिक गर्ने तयारी गरेका थियौं । तर, हिजो साँझ विष्णु माझीको गीत सार्वजनिक भएछ । अब आज र भोलि त्यस गीतको रेस्पोन्स हेरेर मात्र हाम्रो गीत सार्वजनिक गर्नुपर्ला ।’

तीज गीत ‘चरी जेलैमा’पछि आफ्नै म्युजिक कम्पनी (सपना म्युजिक इन्डष्ट्रिज)मार्फत सार्वजनिक भएको गीत हो– ‘दशैं तिहार आइसक्यो’ । यस गीतमा पनि विष्णु माझीकै श्रीमान सुन्दरमणि अधिकारीको शब्द र संगीत छ । विष्णु माझीको स्वर रहेको गीतमा महिमा आचार्यको कोरस गायन छ ।