भिमाद सञ्चार
तनहुँ २०८२ श्रावण ३०
भिमाद, अमृत परियार ।
भिमादमा एक दशकदेखि प्रिन्टिङ तथा मुद्रण व्यवसाय गर्दै आएका युवा व्यवसायी राजन नेपालीले भिमाद नगरपालिका–६, क्याम्पस रोडमा ‘हट एण्ड स्पाइसी रेष्टुरेन्ट’ सञ्चालनमा ल्याएका छन्।

शुक्रबार बिहान भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीले एक विशेष समारोहका बीच रेष्टुरेन्टको उद्घाटन गरे।
कार्यक्रममा बोल्दै नगर प्रमुख सुवेदीले नविन सोच र उद्देश्य सहित आफ्नै पूँजी र समयको लगानी गरी प्रेरणादायी कार्यको थालनी गरेको भन्दै व्यवसायी नेपालीलाई बधाई दिए।
उनले भने, “व्यवसाय केवल नाफा कमाउने माध्यम मात्र होइन, यसले रोजगारी सिर्जना गर्ने, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने र समाजमा सकारात्मक सन्देश दिने काम पनि गर्छ। राजन नेपाली र अर्जुन नेपालीले ‘देशमा केही हुदैन’ भन्ने भाष्यलाई आफ्नो कर्म मार्फत चिरेका छन् ।”
युवा व्यवसायी राजन नेपालीले आफ्नै स्थानीय क्षेत्रमा पर्याप्त सम्भावना भएकाले सम्पूर्ण उमेर समूहलाई लक्षित गर्दै स्वाद, स्वास्थ्य र समाजको लागि धुम्रपान तथा मद्यपान रहित रेष्टुरेन्ट सञ्चालनमा ल्याएको बताए।
उनले भने, “हाम्रो उद्देश्य केवल खानाको स्वाद मात्र होइन, स्वस्थ जीवनशैली र स्वच्छ वातावरण दिनु हो। यहाँ नेपाली, इन्डियन, कन्टिनेन्टल, चाइनिज, फास्टफुड लगायतका विभिन्न परिकारको स्वाद लिन सकिन्छ। साथै साना–ठूला पार्टी तथा पारिवारिक समारोह गर्न समेत सुविधा उपलब्ध हुनेछ।”
उद्घाटन कार्यक्रममा उपस्थित स्थानीय समाजसेवी, व्यापारी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले भिमादमा आधुनिक र व्यवस्थित रेष्टुरेन्टको स्थापना स्वागतयोग्य रहेको धारणा राखे। यस किसिमका व्यवसायहरूले केवल बजारको रौनक मात्र बढाउँदैनन्, पर्यटन सम्भावनालाई समेत बल पुर्याउने र युवालाई स्वदेशमै अवसर खोज्न प्रेरित गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा नगरपालिकाका विभिन्न शाखा प्रमुख, वडा अध्यक्षहरू, हट एण्ड स्पाइसीका संस्थापक ज्ञान बहादुर गुरुङ, स्थानीय व्यवसायी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।









