भिमाद सञ्चार
तनहुँ २०८२ चैत्र २८
तनहुँ । शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित पृथ्वी राजमार्गमा सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनास्थलबाट उद्धार गरेर अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मृत्यु हुनेमा स्कुटर चालक मुक्तिनाथ शुक्लागण्डकि च्यावनधामका पुजारी गणेश खतीवडा र पछाडि सवार गाछेपानीका कृष्ण भुजेल रहेका छन् ।
च्यवनधामका पुजारी खतिवडाको आजनै जन्मदिन परेको थियो । दुर्घटना पहिलेसम्म उनलाई सामाजिक सञ्जालमा शुभकामना दिइरहेको देखिन्छ ।
शनिबार दिउँसो पोखराबाट बेलचौतारातर्फ जादैं गरेको बा ११ च ७३६५ नम्बरको पिकअप भेनले डिभाइडर नै क्रस गरेर विपरित दिशाबाट गुडिरहेको ग १९ प २९८८ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
दुर्घटनामा घाइते एक जनाको तनहुँ सेवा हस्पिटल दुलेगौंडामा र अर्का घाइतेको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको प्रहरीले जनाएको छ । पिकअप भेनका चालकलाई प्रहरीले नियन्त्रणमा लिए सकेको छ ।









