वडा, पालिका, जिल्लामा धमाधम अधिवेशन सम्पन्न गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि प्रदेशका अधिवेशन पनि सुरु गर्दैछ ।
केही जिल्लाबाहेक प्राय: जिल्लामा नयाँ नेतृत्व चयन गरेको रास्वपाले प्रदेश अधिवेशन सुरु गर्न थालेको हो ।
रास्वपाले आज बिहान बागमती प्रदेशको अधिवेशन उद्घाटन गरी प्रदेश अधिवेशन सुरु गर्दैछ । बागमती अधिवेशन प्रदेश राजधानी हेटौंडामा बिहान उद्घाटनको तयारी गरिएको हो ।
अधिवेशनको हेटौंडास्थित हिमालयन दरबारमा हुने अधिवेशनको उद्घान पार्टी सभापति रवि लामिछानेले गर्ने तय भएको छ । बागमतीपछि अन्य प्रदेशको अधिवेशन सुरु हुनेछ ।
पहिलो अधिवेशनमा बागमतीको सभापति पदका लागि दुई जना आकांक्षी देखिएका छन् । हालका बागमती सभापति डा. अच्युत्तम लामिछाने अधिवेशनमार्फत सोही पदमा दोहोरिन चाहेका छन् ।
लामिछानेले अनलाइनखबरसँग भने, ‘यही जिम्मेवारीमा रहन चाहेको छु । केन्द्रीय समितिमा जाने चाहना अहिलेको लागि छैन ।’
अधिवेशनबाट नयाँ नेतृत्व चुनावमार्फत आउने उनले जानकारी गराए । लामिछानेले भने, ‘साथीहरूले पनि इच्छा देखाउनु भएको सुनेको छु । चुनाव होला ।’ लामिछाने रास्वापको बागमती प्रदेश सभापति स्थापनाकालदेखि छन् ।
सभापति पदका लागि अर्को आकांक्षी उत्सव अर्याल देखिएका छन् । अर्याल बागमती समितिमा हाल प्रवक्ता छन् । रास्वपाका केन्द्रीय विभागका एक सदस्यका अनुसार दुवैतर्फबाट प्यानल बनाएर प्रतिस्पर्धा गर्ने तयारी गरिएको छ ।









