भिमाद सञ्चार

तनहुँ २०८३ जेष्ठ २६

काठमाडौँ — गृहमन्त्रीमा सुधन गुरुङलाई पुनः जिम्मेवारी दिइने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले गुरुङलाई गृहमन्त्री बनाउने निर्णय लिएका हुन् ।

प्रधानमन्त्री शाहले गुरुङलाई मंगलबार नै गृहमन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेका हुन् । मंगलबार ३ बजे शपथग्रहणको कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार गृहमन्त्रीमा गुरुङलाई नियुक्ति गरेर शपथको कार्यक्रम तय भएको छ ।

लगानीका विषयमा विवाद उत्पन्न भएपछि गुरुङले वैशाख ९ गते राजीनामा दिएका थिए ।

प्रतिनिधिसभाको २०८२ फागुन २१ को निर्वाचनमा संसद्मा झन्डै दुई तिहाइ सिट जितेपछि गत चैत १३ मा गठित वालेन्द्र शाह नेतृत्वको सरकारमा गुरुङलाई गृहमन्त्रीको जिम्मेवारी दिइएको थियो । सम्पत्तिको विवरणको विषयमा प्रश्न उठेपछि उनले बैशाख ९ गते राजीनामा गरेका थिए ।

२८ वैशाखमा मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य थिए । छानबिन समितिले शुक्रबार प्रधानमन्त्री शाहलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन मन्त्रिपरिषद्को मंगलबारको बैठकले ग्रहण गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

समितिले सम्पत्तिका हकमा निर्वाचन आयोगमा २१ फागुनको निर्वाचनअघि बुझाएको सम्पत्ति र गृहमन्त्री भएपछि सार्वजनिक भएको सम्पत्तिको पनि तुलना गरिएको छ ।

छानबिन समितिका एक सदस्यका अनुसार गुरुङका नाममा धनकुटाको कार्कीछाप (भेडेटार क्षेत्र) मा १९ रोपनी १५ आना जग्गा र बाबुका नाममा चितवनको भरतपुर–१८ मा ३० कट्ठा र बाजेको गोरखाको चुमनुव्रीमा २ सय २१ रोपनी भएको पाइएको छ । गोरखाको जग्गाको धेरै मूल्यांकन नहुने देखिएको, चितवन र भेडेटारको जग्गा मात्र केही महँगो रकमको हुन सक्ने भएकाले अस्वाभाविक भन्न नमिल्ने भनी प्रतिवेदनमा लेखिएको छ ।