भिमाद सञ्चार
तनहुँ २०८३ श्रावण ३
तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले साउन २ र ३ गते गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई आधार मान्दै प्रशासनले नदी तथा खोलाको किनार, पहिरोको जोखिम भएका बस्ती र डुबान हुन सक्ने क्षेत्रका बासिन्दालाई उच्च सावधानी अपनाउन आग्रह गरेको हो।
प्रशासनका अनुसार अत्यावश्यक कामबाहेक अनावश्यक यात्रा नगर्न, मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन र जोखिमको अवस्था देखिएमा ढिलाइ नगरी सुरक्षित स्थानमा सर्नुपर्नेछ।
कुनै पनि विपद् वा आपत्कालीन अवस्था उत्पन्न भएमा स्थानीय तह, नेपाल प्रहरी वा सम्बन्धित निकायसँग तत्काल सम्पर्क गर्न प्रशासनले आग्रह गरेको छ। साथै, सम्भावित बाढी, पहिरो र डुबानबाट जोगिन सबै नागरिकलाई आवश्यक सावधानी अपनाउन अपिल गरिएको छ।









