भिमाद सञ्चार

तनहुँ २०८३ श्रावण ५
तनहुँ, — तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा सोमबार दिउँसो बस दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् भने अन्य ९ जना यात्रु घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार सोमबार दिउँसो करिब ३:१५ बजे कलेस्तीबाट दमौलीतर्फ जाँदै गरेको ग१ख ६४६५ नम्बरको बस अनियन्त्रित भई कलेस्ती खोलाको पुलमा ठोक्किएको हो।
दुर्घटनामा चालक शम्सेर नेपाली चालक सिटमै च्यापिएर गम्भीर घाइते भएका थिए। प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेको कमाण्डमा जिल्ला प्रहरी कार्यालय तनहुँ र ट्राफिक प्रहरीसहित १७ जनाको टोली घटनास्थलमा पुगेर चालकको उद्धार गरेको थियो।
गम्भीर घाइते चालकलाई उपचारका लागि प्रदेश अस्पताल, दमौली पठाइएको प्रहरीले जनाएको छ। बसमा करिब २५ जना यात्रु सवार रहेको प्रारम्भिक जानकारी छ।
दुर्घटनामा अन्य ९ जना यात्रु पनि घाइते भएका छन्। उनीहरूलाई समेत उपचारका लागि अस्पताल पठाइएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।