भिमाद सञ्चार

तनहुँ २०८३ श्रावण २०काठमाडौं । भूमि समस्या समाधान समितिले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी व्यवस्थापन प्रक्रियामा झुटो विवरण वा गलत अभिलेख पेश गर्ने व्यक्तिलाई कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ।

समितिले सूचना जारी गर्दै वास्तविक तथ्य लुकाई अनुचित लाभ लिन खोज्ने कार्य सह्य नहुने स्पष्ट पारेको हो।
समितिका अनुसार जग्गा प्राप्त गर्ने उद्देश्यले गलत विवरण, झुटा कागजात वा अभिलेख पेश गरी जग्गा तथा संरचना प्राप्त गरेको वा सिफारिस गराएको पाइएमा सम्बन्धित व्यक्ति तथा सिफारिसकर्तासमेत कानुनी दायरामा आउनेछन्। यस्तो कार्य भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२(घ) बमोजिम दण्डनीय हुने उल्लेख गरिएको छ।
समितिले २०८३ साउन १९ गतेको निर्णयअनुसार उक्त सूचना सार्वजनिक गरेको हो। भूमिसम्बन्धी प्रक्रिया पारदर्शी, निष्पक्ष र कानुनसम्मत बनाउन सबैलाई सत्य विवरण मात्र पेश गर्न तथा झुटो सिफारिस नगर्न आग्रह गरिएको छ।