भिमाद सञ्चार

तनहुँ २०८३ श्रावण २३
दमौली, व्यास नगरपालिकाको २४४औँ नियमित कार्यपालिका बैठकले जग्गा व्यवस्थापन, पर्यटन विकास, खेलमैदान, सडक निर्माण तथा स्वास्थ्य सेवासहित विभिन्न १० वटा निर्णय गरेको छ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले वडा नं. १० स्थित वैरेनी जग्गा एकीकरण आयोजनाका जग्गाधनीलाई जग्गाधनी प्रमाणपुर्जा वितरणमा सहजीकरण गर्न भूमि प्रशासन कार्यालय तनहुँलाई लेखी पठाउने निर्णय गरेको छ।
बैठकले वडा नं. ५ स्थित मानुङकोट पर्यटकीय ग्राममा निर्माण हुने संरचनाको दिगोपना तथा उद्यमशीलता मापनका लागि अमेरिकी संस्था Institute for Sustainable Infrastructure (ISI) को प्राविधिक सहयोग स्वीकार गर्ने निर्णय गरेको छ। वडा नं. १० दुम्सीचौरमा निर्माणाधीन नौधर तालमा जग्गा मिलानका लागि आवश्यक निजी जग्गा खरिद गर्न मन्त्रालयबाट अनुमति माग्ने तथा वडा नं. ३ को खेलमैदानको डीपीआरलाई हालको दररेटअनुसार अद्यावधिक गर्ने निर्णय पनि गरिएको छ।
त्यस्तै, विश्व बैंकको सहयोगमा निर्माणाधीन पराशर मार्गको काम आगामी असोज मसान्तसम्म सम्पन्न गर्ने गरी निर्माण व्यवसायीलाई समय थप गरिएको छ। पोखरा घारीपाटनस्थित हिमालय आँखा अस्पतालसँग सहकार्य गरी दमौलीमा आँखा उपचार केन्द्र सञ्चालनका लागि पहल गर्ने, व्यास नगर युवा परिषद् गठन प्रक्रिया अघि बढाउने तथा नगरपालिकाको आग्रहमा सार्वजनिक पेटीमा रहेका संरचना हटाउन सहयोग गर्ने घरधनीलाई धन्यवाद दिँदै बाँकी संरचना हटाउन आवश्यक प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको छ।