भिमाद सञ्चार

तनहुँ २०८३ श्रावण २८
काठमाडौं । नेपाल प्रहरीले एआई तथा प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत हुने कृत्रिम फोटो/भिडियो सिर्जना, भ्रमपूर्ण सूचना प्रकाशन तथा चरित्रहत्या जस्ता गतिविधिप्रति सचेत गराएको छ।

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले यस्ता गतिविधिबाट समाजमा त्रास सिर्जना हुने भन्दै सार्वजनिक चेतावनी जारी गरेको हो।
साइबर ब्यूरोका अनुसार एआईको दुरुपयोग गरी सिर्जना गरिएका श्रव्यदृश्य सामग्री तथा अभिव्यक्ति सम्प्रेषण गर्ने र व्यक्ति वा संघसंस्थाको चरित्रहत्या गर्ने कार्य नैतिक रूपमा गलत हुनुका साथै कानुनी रूपमा समेत दण्डनीय छन्। यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई प्रचलित कानुनबमोजिम कडा कारबाही हुन सक्ने प्रहरीले जनाएको छ।
प्रहरीले अनलाइन माध्यममा भेटिएका हरेक विषयलाई तत्काल विश्वास नगरी विश्वसनीय स्रोतबाट मात्र आधिकारिक जानकारी लिन आम नागरिकलाई आग्रह गरेको छ। एआई प्रविधिको बढ्दो प्रयोगसँगै यसको दुरुपयोगबाट हुने सम्भावित साइबर अपराध नियन्त्रणका लागि सचेत र जिम्मेवार बन्न प्रहरीले सबैमा अनुरोध गरेको छ।