भिमाद सञ्चार
तनहुँ २०८३ श्रावण ३१
भिमाद । पोखराको विजयपुर खोलाले बगाउँदा दुई किशोर बेपत्ता भएका छन्। शनिबार दिउँसो पोखरा–१४ विजय बस्तीबाट खोला तरेर पोखरा–२६ सक्नेरीतर्फ फुटबल खेल्न जाने क्रममा उनीहरूलाई खोलाले बगाएको हो।
स्याङ्जाको बिरुवा गाउँपालिका घर भई पोखरा–१४ छिन्नेडाँडा बस्दै आएका १४ वर्षीय निकसन गुरुङ र खोटाङ घर भई चाउँथे बस्ने १५ वर्षीय ओमन राई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उनीहरूसँगै रहेका एक किशोर भने अड्किएर सकुशल बच्न सफल भएका छन्।
निरन्तरको वर्षाका कारण खोलामा बहाव बढेको र घटनास्थल गहिरो खोँचमा रहेकाले तत्काल उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीका गोताखोरसहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी बेपत्ता किशोरहरूको खोजी जारी राखिए पनि उनीहरू फेला पर्न सकेका छैनन्।









