भिमाद सञ्चार
तनहुँ २०८३ भाद्र १
तनहुँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको बिक्री–वितरणलाई व्यवस्थित बनाउन नयाँ व्यवस्था लागू गरेको छ।

निगमका अनुसार भदौ १ गते सोमबारदेखि ग्यास उद्योगले नियुक्त गरेका विक्रेतामार्फत नियमित प्रक्रियाअनुसार ग्यास बिक्री–वितरणको व्यवस्था मिलाइएको छ।
निगमले उपभोक्तालाई आफूलाई पायक पर्ने ग्यास विक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न आग्रह गरेको छ। ग्यास विक्रेताले दैनिक बिक्री भएको ग्यासको परिमाण, उपभोक्ताको नाम र सम्पर्क नम्बरलगायत विवरण तयार गरी सम्बन्धित उद्योगलाई उपलब्ध गराउनुपर्नेछ। अत्यावश्यक घरायसी प्रयोजनका उपभोक्तालाई बिक्रीमा उच्च प्राथमिकता दिनसमेत निर्देशन दिइएको छ।
ग्यास ढुवानी तथा वितरणका क्रममा सहजता र सुरक्षाका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत आवश्यक समन्वय गर्न अनुरोध गरिएको निगमले जनाएको छ। साथै, नजिकका विक्रेताबाट ग्यास प्राप्त गर्न नसकी तत्काल अत्यावश्यक परेका उपभोक्ताले निगमको सञ्चालनमा रहेको क्विक रेस्पोन्स टिम (QRT) मा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।









