भिमाद सञ्चार

तनहुँ २०८३ भाद्र ७

तनहुँ । आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले व्यास नगरपालिका–१० दुम्सीचौरमा निर्माण गरिएको ‘नारेश्वर ताल’मा पानी जम्मा गर्न थालिएको छ। मुख्य संरचना निर्माण सम्पन्न भएसँगै पानी भरिन थालेपछि तालको सौन्दर्य बढेको छ भने ताल हेर्न आउने पर्यटकको संख्या पनि बढ्दै गएको छ।
करिब २८ रोपनी क्षेत्रफलमा फैलिएको ताल ३ सय मिटर लामो र २८ देखि ६८ मिटरसम्म चौडा छ। करिब चार करोड रुपैयाँ लागतमा निर्माण गरिएको तालमा ३० हजार घनमिटरसम्म पानी भण्डारण गर्न सकिन्छ। ताल निर्माणका लागि स्थानीयवासीको २४ रोपनी ११ आना जग्गा अधिग्रहण गरी मुआब्जासमेत वितरण गरिएको छ।
ताललाई पर्यटनसँगै कृषि र स्थानीय रोजगारीसँग जोड्ने योजना नगरपालिकाको छ। ताल वरपर जलविहार, वनभोजस्थल तथा अन्य पर्यटकीय पूर्वाधार निर्माण गरिनेछ भने तालको पानी सिँचाइमा प्रयोग गरी स्थानीय कृषि उत्पादन बढाउने तयारी छ। होमस्टे सञ्चालनसमेत सुरु गरिएकाले नारेश्वर ताल दुम्सीचौरको नयाँ पर्यटकीय गन्तव्य बन्ने अपेक्षा गरिएको छ।