भिमाद सञ्चार
तनहुँ २०८३ भाद्र ८
दमौली, तनहुँ। तनहुँमा मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले २० वर्षीय युवकलाई पक्राउ गरेको छ। भिमाद नगरपालिका–२ जिलाङका सुकबहादुर रानाले घरको आँगनमा पार्किङ गरी राखेको बजाज NS १६० सीसी मोटरसाइकल भदौ ६ गते बिहान चोरी भएको थियो।
चोरी भएको मोटरसाइकलको खोजी गर्ने क्रममा प्रहरीले भदौ ७ गते शुक्लागण्डकी नगरपालिका–१ स्थित जङ्गलबाट मोटरसाइकलसहित शुक्लागण्डकी–४ गाछेपानी बस्ने २० वर्षीय युवकलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका युवकलाई तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।









