भिमाद सञ्चार

तनहुँ २०८३ भाद्र ११
तनहुँको शुक्लागण्डकी नगरपालिकाले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ७ लाख ५५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

नगरपालिकाले उक्त रकम विपद् पुनःस्थापना कोषबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ।
भदौ १० गते रसुवाको भोटेकोशी/त्रिशूली नदीमा आएको अनपेक्षित बाढीबाट नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै नगरपालिकाले दुःख व्यक्त गरेको छ। विपद्को यस घडीमा प्रभावित नागरिकलाई सहयोग पुर्‍याउनु स्थानीय सरकारको दायित्व भएको भन्दै नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारीका तर्फबाट समेत थप सहयोग गर्ने जनाएको छ।
नगरपालिकाले अन्य सहयोगका लागि जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयसँग आवश्यक समन्वय भइरहेको जनाएको छ। साथै, सामाजिक संघ–संस्थाले सहयोग संकलन गर्न चाहेमा जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी राहत संकलन तथा वितरण गर्न आग्रह गरेको छ।