भिमाद सञ्चार
तनहुँ २०८३ भाद्र १३
भिमाद । स्याङ्जाको हरिनास गाउँपालिकाले रसुवामा भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
गाउँपालिकाले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ।
गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ मा तीज प्रतियोगिता कार्यक्रमका लागि विनियोजित रकमबाट ५ लाख रुपैयाँ नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। बाढीका कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।
साथै, यस वर्षको तीज प्रतियोगिता कार्यक्रम आयोजना नगर्ने निर्णयसमेत गरिएको छ। विपद्को दुःखद् घडीमा प्रभावित नागरिकप्रति एक्यबद्धता जनाउँदै गाउँपालिकाले राहत तथा पुनःस्थापनाका लागि प्रभावित परिवार र समुदायलाई सहयोग गर्न सबैमा अपिल गरेको छ।















