भिमाद सञ्चार
तनहुँ २०८३ भाद्र १८
तनहुँ । व्यास नगरपालिका–१२, चारकुने छाब्दीकी कक्षा ५ मा अध्ययनरत छात्रा कृति आलेले आफ्नो खुत्रुकेमा जम्मा गरेको रु १० हजार ७ सय बाढीपीडितका लागि सहयोग गरेकी छन्।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कृतिले आफ्नो बचत रकम विद्यालयमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेकी हुन्।
सानै उमेरमा आफ्नो इच्छा र आवश्यकताका लागि जम्मा गरेको बचत बिपध परेकाहरुका लागि समर्पण गर्दै कृतिले मानवीय संवेदनाको उदाहरण प्रस्तुत गरेकी छन्। विद्यालयका प्रधानाध्यापक गोमबहादुर रानाले रकम सानो भए पनि उनको भावना र सामाजिक उत्तरदायित्व निकै ठूलो रहेको बताए।












