भिमाद सञ्चार
तनहुँ २०८३ भाद्र २१
पालुङटार, भदौ २० — गोसाइँकुण्ड जाने क्रममा भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका गोरखाको पालुङटारका थप आठ जनाको हिन्दू संस्कारअनुसार कुशको शव बनाएर सामूहिक अन्तिम दाहसंस्कार गरिएको छ। चेपेघाटस्थित मर्स्याङ्दी नदी र चेपे खोलाको दोभानमा आफन्त, स्थानीयवासी, जनप्रतिनिधिलगायतको उपस्थितिमा अन्तिम संस्कार गरिएको हो।
शव फेला नपरेपछि मृतकको प्रतीकका रूपमा कुशबाट शव तयार गरी धार्मिक विधिअनुसार पूजा तथा अन्तिम संस्कार गरिएको थियो। भदौ १९ गते पनि माया देवकोटा र कृष्णकला देवकोटाको कुशको शव बनाएर दाहसंस्कार गरिएको थियो। आफ्ना आफन्तको भौतिक शरीरसमेत देख्न नपाई प्रतीकात्मक रूपमा अन्तिम बिदाइ गर्नुपर्दा परिवारजन भावविह्वल बनेका थिए।
यससँगै पालुङटारका १० जना गाउँलेलाई एकैपटक गुमाउनुपरेको घटनाले सिङ्गो पालुङटार क्षेत्रलाई शोक र स्तब्धतामा डुबाएको छ। भदौ २० गते अन्तिम संस्कार गरिएका आठ जनामा दुर्गादेवी देवकोटा, तेजकुमारी देवकोटा, हरिप्रसाद देवकोटा, शारदा देवकोटा, सम्झना देवकोटा, डिलबहादुर खत्री, मुरली खत्री र गोमा पपने रहेका छन्।












