भिमाद सञ्चार

तनहुँ २०८३ भाद्र २१
तनहुँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका क्रममा बेपत्ता भएका नागरिक तथा फेला परेका पहिचान नखुलेका शवको पहिचानका लागि नेपाल प्रहरीले डीएनए परीक्षण प्रक्रिया सुरु गरेको छ। बाढीका कारण क्षतविक्षत अवस्थामा शव तथा मानव अंग फेला परेकाले वैज्ञानिक विधिबाट पहिचान गर्न डीएनए परीक्षण अघि बढाइएको हो।
बेपत्ता व्यक्तिका नजिकका रक्तसम्बन्धी आफन्तबाट रगतको नमुना संकलन गरी फेला परेका शव तथा मानव अंगबाट प्राप्त नमुनासँग डीएनए मिलान गरिनेछ। यसबाट पहिचान खुल्न नसकेका शवको यकिन पहिचान गरी परिवारलाई बुझाउन सहयोग पुग्ने प्रहरीले जनाएको छ।
बाढीपछि तनहुँसहित विभिन्न क्षेत्रमा बेपत्ता तथा पहिचान नखुलेका शव फेला पर्ने क्रम जारी रहेकाले डीएनए परीक्षणलाई तीव्रता दिइएको हो। प्रहरीले बेपत्ता आफन्त भएका परिवारलाई आवश्यक प्रक्रिया पूरा गरी डीएनए नमुना उपलब्ध गराउन आग्रह गरेको छ।