भिमाद सञ्चार

तनहुँ २०८३ भाद्र २३
तनहुँ । भाद्र २३ र २४ गते भएको Gen-Z आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भिमाद नगर कार्यसमितिले दीप प्रज्वलन गरेको छ। आन्दोलनमा युवाहरूले भ्रष्टाचार, सुशासन र सामाजिक सञ्जालमाथिको प्रतिबन्धलगायत विषयमा आवाज उठाएका थिए।
दीप प्रज्वलन कार्यक्रममा सहभागीहरूले ज्यान गुमाएका Gen-Z पुस्ताका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको अधुरो सपना, न्याय, सुशासन र परिवर्तनको आकांक्षालाई सम्झिएका थिए। कार्यक्रममा पीडित परिवारप्रति सम्मान तथा ऐक्यबद्धता व्यक्त गरिएको थियो।
रास्वपा भिमाद नगर कार्यसमितिले Gen-Z युवाहरूको बलिदानलाई कहिल्यै नबिर्सने बताउँदै न्याय, सुशासन र सकारात्मक परिवर्तनका लागि आवाज उठाइरहने प्रतिबद्धता जनाएको छ। “Gen-Z को बलिदान न बिर्सिन्छौँ, न बिर्सन दिन्छौँ” भन्ने सन्देशसहित कार्यक्रम सम्पन्न गरिएको हो।