अहिले पेरिस सेन्ट जर्मन (पीएसजी)को टोलीमा धेरै अन्योल देखिएको छ । आइतबार पीएसजीले लियोनलाई २–१ गोलले हराएको खेलमा स्वयं लिओनल मेस्सी अन्योलमा परे ।

प्रशिक्षक माउरिसिओ पोचेचिन्होले ७५ औं मिनेटमा मेस्सीको स्थानमा अश्रफ हाकिमीलाई मैदान प्रवेश गरेका थिए । मैदान छाडेर बेञ्चतिर अघि बढ्दा अर्जेन्टिनी स्टार मेस्सीको अनुहारको भावभंगीले प्रशिक्षकको निर्णयले अन्योलमा परेको प्रश्न देखिन्थ्यो ।

 

त्यो समयमा पीएसजी लियोनसँग बराबरीको अवस्थामा थियो ।

पीएसजीका लागि तेस्रो खेल खेलिरहेका मेस्सीले खेलको पहिलो हाफमा राम्रो खेलेका थिए । तर दुवै टोलीबाट गोल हुन सकेन । दोस्रो हाफको शुरुमै लियोनले गोल गर्‍यो भने ६६ औं मिनेटमा पाएको पेनाल्टीमा पीएसजीका नेइमारले बराबरी गोल फर्काए ।

खेलपछि पीएसजीका प्रशिक्षक माउरिसिओ पेचटिन्होले मेस्सीलाई सब्सिच्युट गर्ने निर्णयबारे स्पष्टीकरण दिएका छन् ।

‘हामीले मेसीलाई बाहिर निकाल्ने निर्णय सम्भावित चोटबाट बचाउन गरेका थियौं । किनकि आगामी दिनमा निकै महत्वपूर्ण खेल खेल्न बाँकी छ र हामीले उनलाई चोटबाट बचाउनु पर्छ,’ उनले भने ।

एजेन्सीहरुको सहयोगमा