अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय बरीयतामा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले १२ स्थान सुधार गरेका छन् ।

एक साता अघि पहिलो पटक शीर्ष सय (९१) स्थानमा अटाएका सन्दीपले १२ स्थान सुधार गर्दै ७९ औँ स्थानमा आफूलाई पुर्‍याएका छन् । सन्दीप एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा शीर्ष एक सयभित्र पर्ने पहिलो नेपाली खेलाडी हुन् । सन्दीप सँगै ७९ औँ बरीयतामा बंगलादेशका तीव्र बलर रुबेल हुसेन समेत रहेका छन् । ओमान भ्रमणमा गरेको प्रदर्शनले सन्दीपलाई बरीयतामा माथि ल्याएको हो ।

 

सन्दीपले भारतीय खेलाडी हार्दिक पान्ड्या, अस्ट्रेलियाका मिचेल मार्श, मार्कुस स्टोइनिस, लगायत खेलाडीलाई पछि पारेका छन् । २०२१ मा एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने सूचीमा सन्दीप तेस्रो स्थानमा रहेका छन् । उनले यो वर्ष ६ खेलमा ५ इनिङ खेल्दै १८ विकेट लिइसकेका छन् ।

सन्दीप नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय र टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडी समेत हुन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा १६ खेलको १५ इनिङ्समा ४१ विकेट तथा टी-२० अन्तर्राष्ट्रियमा २५ खेलमा ४७ विकेट लिएका छन् ।