तनहुँ जिल्ला लिग फुटबल प्रतियोगिता २०७८ को उपाधि दोभान युवा क्लब दमौलीले उचालेको छ । आज दोभान युवा क्लब दमौली र अजम्बरी युवा क्लब बन्दीपुर बीच भएको फाइनल खेलमा दोभान युवा क्लबले अजम्बरी युवा क्लबलाई पेनाल्टी सुट आउटमा ४-१ गोल अन्तरले पराजित गर्दै उपाधि उचाल्न सफल भएको हो । खेलको निर्धारित समयभित्र दुवै टिमबाट समान १-१ गोलको बराबरी भएपछि खेल ट्राई ब्रेकेरमा धकेलिएको थियो । दोभान युवा क्लब दमौलीले युवा क्लब भिमादलाई सेमीफाइनल खेलमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । भने अजम्बरी युवा क्लब बन्दीपुरले खैरेनीटार युवा क्लब खैरेनीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए । उपाधि उचाल्दै दोभान युवा क्लबले १ लाख साथै शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छन् भने उपविजेता अजम्बरी युवा क्लबले ५० हजारको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै सो अवसरमा उत्कृष्ट खेलाडी , उत्कृष्ट गोल किप्पर , उत्कृष्ट मिड फिल्डरलाई नगद २ हजार ५ सयको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।

 

 

कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व वनमन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले खेलकुदले नै देशलाई चिनाइरहेको अवस्थामा सरकारले खेलकुद क्षेत्रमा राम्रो ध्यान दिन नसकेको बताउनु भएको थियो । राज्यले अन्य क्षेत्रमा लगानी बढाए जस्तै खेलकुद क्षेत्रमा पनि उल्लेख्य लगानी बढाउनुपर्ने बताउनुभयो । भिमादमा मौलाउँदै गएको खेलकुद गतिविधीलाई मध्यनजर गर्दै उत्कृष्ट राष्ट्रिय स्तरको खेलाडीहरू उत्पादन गर्नको लागि पनि उचित बजेट छुट्याउनको लागि आफूले केन्द्रिय तहमा समेत पहल गर्ने जानकारी दिनुभयो । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै भिमाद नगरपालिकाकी नगरउप-प्रमुख शारदा खनाल , ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले स्थानीयतहले भौतिक पुर्वाधार विकास साथै खेलकुद क्षेत्रमा समेत बजेट विनियोजन गर्दै खेलकुदका गतिविधिहरु सञ्चालन गर्दै आइरहेको बताउनु भएको थियो । एन्फा तनहुँका अध्यक्ष रत्न कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन एन्फा तनहुँका महासचिव ज्योति श्रेष्ठले गर्नुभएको एन्फा तनहुँले जनाएको छ । सो अवसरमा विभिन्न सांस्कृतिक समुह द्वारा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । यस्तै खेल हेर्न करिब १५ सय दर्शक उपस्थित भएका थिए ।